धर्मराज अर्याल
धादिङ जिल्लाकै एक परिचित यस मा वि साविकको भुमेस्थान गा वि स कै प्रथम मा वि को रुपमा इतिहास रच्दै वि.सं. २०४० सालबाट एस एल सी परीक्षामा आफ्ना विद्यार्थीहरु सहभागी गराउंदै झन्डै चार दशकको आरोह अवरोह पूर्ण यात्राको दौरान यस क्षेत्र र विभिन्न जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा समेत यहाँका उत्पादन वा जनशक्तिको घनिभूत उपस्थितिको आधारमा यस विद्यालयलाई साँच्चै नै यस क्षेत्रको एउटा अग्रणी विद्यालय र समाजको चेतना र परिवर्तनको संवाहकको रुपमा सगौरव प्रस्तुत गर्नु हाम्रो कर्तव्य हो । स्थापनाकालदेखि हाल सम्म यस विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको कुरा सवैमा विदितै छ यस विद्यालयको श्रीवृद्धिको लागि विभिन्न तह र तप्काबाट सहयोग पुर्याउनुहुने सम्पूर्ण अग्रज, अभिभावक,राजनीतिक अगुवाहरु, जनप्रतिनिधिहरु, भूतपूर्व शिक्षक तथा प्रधानाध्यापक ,विद्यार्थीहरु र बहालवाला तथा भूतपूर्व वि व्य स प्रतिनिधिहरु सबै प्रति मेरो व्यक्तिगत तथा समग्र विद्यालयको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । विद्यालय समाजको एउटा दर्पण हो । समाज र समुदायको सहयोग र समन्वय विना विद्यालय एक्लैले गन्तव्य पहिल्याउने कुरा असम्भव प्रायस् छ । आजको एक्काइसौं सताब्दी विज्ञान, प्रविधि र प्रतिष्पर्धाको युग हो । डार्विनको सिद्धान्त जस्तै ‘योग्य नै टिक्ने’(survival of the fittest)भन्ने नियम विद्यालयको अस्तित्त्व र विकासमा पनि प्रत्यक्ष लागू भएको अनुभूत गर्न सकिन्छ । विद्यालयले विद्यार्थीको सवालमा ‘झिकाउ ,टिकाउ र बिकाउ‘ को सिद्धान्तलाई मध्यनजर राखी समकालीन छिमेकी विद्यालयहरुसंग सहयात्रा जारी राख्दै शिक्षाको चार स्तम्भ (four pillars of education) लाई समेत ध्यानमा राख्दै 'केही बन्नका लागि शिक्षा, केही जान्नका लागि शिक्षा, केही गर्नका लागि शिक्षा र समाजमा संगै बाँच्नका लागि शिक्षा' को मूल मर्मलाई आत्मसात गर्दै सिकाइ गर्नु आजको युगीन आवश्यकता हो । यस किसिमको यात्राको क्रममा हामीलाई विभिन्न सरकारी, गैर सरकारी निकाय, समाज, समुदाय, भूतपूर्व विद्यार्थीहरुबाट यथोचित सहयोगको जरुरत पर्ने कुरा छिपाउन सकिन्न वििशेष गरी भूतपूर्व विद्यार्थीहरुको लागि आफूले अध्ययन गरेको विद्यालय आफ्नी आमा जस्तै प्यारो हुने र सोही बमोजिम सद्भाव, चासो र सहयोग प्राप्त हुन सक्ने कुराको विश्वास लिएको छु । विद्यालयको समग्र भौतिक, आर्थिक र शैक्षिक पक्षको यथोचित विकास गरी यसलाई अमूल्य नासोको रुपमा इमान्दारीपूर्वक हस्तान्तरण गर्ने परम्परालाई दृष्टिगत गर्दै हाललाई सम्बद्ध सरोकारवाला सबैको साथ र सहयोगमा विद्यालयको तत्कालिन, अल्पकालीन र दिर्घकालिन रणनीति अख्तियार गर्दै सार्थक गन्तव्य तर्फ अग्रसर हुने प्रण र संकल्पका साथ “हाम्रो महाकाली,राम्रो महाकाली” (our Mahakai, Better Mahakali)भन्ने दूरदृष्टि हासिल गर्न सबैले होस्टेमा हैंसे गर्नु हुनेछ भन्नेमा पूर्ण आशावादी र विश्वस्त छु ।
We Provide a Variety of Courses